काठमाडौँ, २ असार।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न  नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो ।

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । नर्भिक अस्पतालमा पुगी उहाँले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिनुभयो । । ‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

स्वास्थ्यावस्था स्थिर
नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।
हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर