दार्चुला, २७ जेठ । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा   नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यो भारतद्वारा अतिक्रमित क्षेत्रा हो । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।

भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ ।

दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पु¥याएको छ । ढुङ्गाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुङ्गा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ । अहिले मात्र नभई विगतदेखि नै भारतले सडक निर्माणका क्रममा नेपालतिरको भूगोलमा क्षति पु¥याउने गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । यसबाट अधिकांश ढुङ्गाले नदी थुनिने र नेपालतिर क्षति पु¥याउने गरेको छ ।

भारतीयले सडक निर्माणका क्रममा ढुङ्गा आएर अवरुद्ध भएको छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको छ । अवरुद्ध भएको १५० मिटर बाटो प्रहरी चौकी दुम्लीङका प्रहरी सहायक निरीक्षक जनकबहादुर सिंह तथा स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सक्रियताले मात्रै पूर्णरूपमा सञ्चालन हुने अवस्था छैन तर पनि अस्थायीरूपमा मान्छे हिँड्डुल गर्न मिल्ने गरी काम हुँदैछ ।” कल्जु तम्बाकु क्षेत्रमा घोरेटो बाटो अवरुद्ध हुँदा व्यासको छाङ्गरु र तिङ्कर आवतजावतसमेत बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर