
सुदूरपश्चिम, २५ असोज : धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान सु प प्र०१–००१ख३९५६ नम्बरको हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अछामबाट धनगढीतर्फ आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
बारा २५ असोज : छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छिन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन ।
उहाँका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । भाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।