ललितपुर, २१ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।
बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गर्नुभयो ।
“गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्”, अध्यक्ष ओलीले भन्नुभयो, “यसमा हामी पनि दुःखी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
—
