काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गर्नु भयो ।
उहाँले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने साङ्घाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ ।
प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।
