काठमाडौँ, १५ जेठ । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन उपेन्द्र यादव पक्षले पत्र पठाइएको छ ।
केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।
पार्टीभित्र चर्किँदो विवादका बीच ठाकुर समूहले पनि उपेन्द्र यादवलगायतलाई स्पष्टीकरण सोधेको थियो । तर यादवले पनि दिएका छैनन् ।

