काठमाडौँ, २४ साउनः विश्वसंस्कृत दिवसका अवसरमा नेपालबाट वेद विषयमा पहिलो विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेललाई सम्मान गरिएको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्वसंस्कृत दिवसका अवसरमा आज जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरिएको हो । प्रतिष्ठानको आह्वानमा विसं २०७५ देखि विश्वसंस्कृत दिवस मनाउन थालिएको हो ।

प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, सम्मानित व्यक्तित्व पोखरेल, विश्वसंस्कृत दिवस कार्यक्रम संयोजक प्रा डा माधवप्रसाद पाण्डेय, प्रा डा जीवन अधिकारीलगायतले संस्कृतको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा ९ऋषितर्पणी० को दिनमा मनाइने विश्वसंस्कृत दिवसको आठौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाइएको हो ।

आठौँ विश्वसंस्कृत दिवसको मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजना गरिएको विश्वसंस्कृत दिवस कार्यपरिषद् ९आयोजक समिति०का संयोजक प्रा डा पाण्डेयले जानकारी दिनुभयो ।

संस्कृत भाषामा निहीत ज्ञान र सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताउनुभयो । प्राचीनकालमा शैक्षिकसत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई दिवसका रूपमा मनाउन थालिएको बताउँदै उहाँले दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घ समक्षसमेत प्रस्ताव लगिने जानकारी दिनुभयो ।

जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाललगायत संस्थाको सहकार्यमा नेपालमा आज कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक पाण्डेयले बताउनुभयो ।

यसैगरी विश्वसंस्कृत दिवसका लागि अन्तरराष्ट्रिय तहमा सहृदयता इन्टरनेसनल, इन्टरनेसनल फेडेरेसन अफ् सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भूटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्सलगायत संस्थाले सहकार्य गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर