राजविराज , २३ साउन । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।
स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । करेन्ट लागेको उहाँको घटनास्थलमै ज्यान गएको छ । उहाँका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।
भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु
बाजुरा, २३ साउन । बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।
राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताउनुभयो । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।
