काठमाडौँ, १८ साउनः देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ ।

रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।

उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

यसैगरी, लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताउनुभयो । यो यस वर्षकै सबैभन्दा बढी मापन हो ।

कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर