बाजुरा, ८ साउन । यहाँको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्र्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिनुभयो ।जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका वडा नं ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउने जीप दुर्घटना भएको बताउनुभयो ।

चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था समान्य रहेको छ । उनीहरुको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेको उपचारका लागि उद्दार गर्न नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जीप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइसकेको पाध्याले बताउनुभयो । घाइतेको क्युडीको टुनीगडामा गाउँपालिकाका स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर