काठमाडौँ, २७ असार । रसुवामा मङ्गलबार आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा बताउनुभएको हो ।
उक्त बाढीले त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका महत्वपूर्ण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको छ । यसैगरी १११ मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको देवीघाट आयोजना बाढीका कारण अवरुद्ध रहेका छन ।
बाढीको मूल कारण वर्षा नभईकन माथिल्लो जलाधार क्षेत्रमा अवस्थित हिमताल विस्फोटबाट बहाव भएको प्रारम्भिक अनुमान गरिएको मन्त्री खड्काले बताउनुभयो । “सेन्टिनल एसिया प्लेटमार्फत यो पुष्टि भएको छ कि रसुवा–तिब्बत क्षेत्रभित्रको लेन्दे खोलामा रहेको एक सुपर ग्लेसियर हिमालयको क्षेत्रमा घटना हुनुअघि शून्य दशमलव ७५ वर्ग किलोमिटरबाट घटेर शून्य दशमलव ६० वर्ग किलोमिटरमा सीमित भएको छ”, उहाँले बताउनुभयो ।
