काठमाडौ, १२ जेठ । नेपाली कांग्रेसले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पनि संक्रमणको आडमा त्रास फैलाउने र राजनीतिक स्वार्थसिद्धि गर्ने सरकारका क्रियाकलापको घोर भर्त्सना गरेको छ ।
नेपाली कांग्रेसको आज बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले निर्णय गर्दै भत्सर्ना गरेको हो ।
बैठकले कोभिड– १९ संक्रमणको रोकथाम गर्नभन्दा पनि त्यस आधारमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको कुरा सहमहामन्त्री डा. प्रकाशशरण महतले वताउनुभएको छ ।
सरकार अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँगाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्ने कार्यमा नलागेको वताउनुभएको छ ।

सरकारले उपत्यकामा खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणमा झन समस्या उत्पन्न गराएको भन्दै ‘दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको छ,’ डा. महतले वताउनुभयो ।
सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने कार्यमा लागेकोमा बैठकले निन्दा गरेको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि पार्टीले सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाए पनि त्यसको बेवास्ता गरेको आरोप डा. महतले लगाउनु भयो ।

पार्टीले राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध निरन्तर रूपमा लाग्नुको साथै कानुनी र राजनीतिक लडाइँलाई पनि निरन्तरता दिने बैठकले निर्णय गरेको डा. महतले वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर