काठमाडौं, १ असार । आज सेयर बजार झिनो अंक ०.४७ ले बढेर नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ ।
हिजो १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भएको छ ।
९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्न पुगेको छ । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ । गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रहेको छ ।
यद्यपि उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढेको छ ।
बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
१० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढेको छ ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहेको छ ।
