काठमाण्डौं, ९ जेठ । इङ्ग्लिस फुटबल क्लब लिभरपुल आगामी च्याम्पियनस लिग खेल्न पाउने भएको छ । आज भएको इङ्ग्लिस प्रिमियर लिगको अन्तिम खेलमा क्रिस्टल प्यालेसलाई हराएर शीर्ष तेस्रो स्थानमा उक्लँदै लिभरपुलले त्यो मौका सुरक्षित गरेको हो ।
लिभरपुलले आज क्रिस्टल प्यालेसलाई २-० गोलले हराउँदै कुल ६९ अंक बनाएको छ ।
यो खेलमा लिभरपुलको लागि दुवै गोल साडियो मानेले गरे। उनले ३६ मिनेटमा पहिलो र ७४ मिनेटमा दोस्रो गोल गरे ।
आजकै खेलमा एस्टन भिल्लासँग २-१ गोलले पराजित भए पनि चेल्सी अंक तालिकाको चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छानिन सफल भएको छ । उसले पहिले नै ६७ अंक बटुलेको थियो । त्यसैले लिस्टर हार्दा उसलाई फाइदा भयो ।
शीर्ष चारको स्पर्धामा रहेको लेस्टर सिटी भने आजको यो अन्तिम खेलमा टोटेनह्यामसँग पराजित भयो र च्याम्पियन्स लिगमा छनोट हुन सकेन । आजको खेल लिस्टरलाई जित्नै पर्ने दवाव थियो तर सकेन । टोटेनसँग ४-२ गोलले हारेपछि लिस्टर सिटी ६६ अंकमा नै सीमित रह्यो ।
यता तीन खेल बाँकी छँदै लिगको उपाधि विजेता बनेको म्यानचेस्टर सिटीले यो अन्तिम खेलमा सानदार जित निकाल्यो । उसले एभर्टनलाई ५-० गोलले पराजित गर्यो ।
त्यस्तै अर्को खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई २-१ गोलले हरायो।
यो सिजनमा म्यानचेस्टर सिटीले ८६ अंक बनायो भने दोस्रो भएको युनाइटेडले ७४ अंक बनायो ।
