मुस्ताङ, १९ असोज : बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन् । बाढी, पहिरो र नदी कटानका कारण एक सातादेखि सडक अवरुद्ध हुँदा स्याउ बोटमा कुहिन थालेका छन् ।

मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ टिप्ने तथा बजार पठाउने काम चलिरहे पनि सडक अवरुद्ध भएपछि बोटमै पाकेका स्याउ झर्न र कुहिन थालेका पीडित किसानको गुनासो छ । हाल ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी छ ।

सडक अवरुद्धका कारण स्याउ ढुवानीमा समस्या भएपछि सोमबार पाँचवटै स्थानीय तहका किसान तथा व्यापारीको समूहले जिल्ला प्रशासन कार्यालय पुगेर सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ । तीन दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष सडक अवरोधका कारण स्याउ ढुवानीमा परेको समस्या र किसानले व्यहोर्नुपर्ने क्षतिबारे जानकारी गराएका हुन् ।

थासाङ गाउँपालिका–१ टुकुचेस्थित आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँअघि स्याउ बिक्री हुने मुख्य समयमा सडक बन्द हुँदा किसानको वर्षभरिको मेहनत खेर जाने अवस्था आएको बताउनुभयो । “स्याउ टिपौँ, बाटो छैन, नटिपौँ बजार लैजाने बाटो छैन,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा स्याउको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढेको छ । सडक चाँडै खुलिदिएको भए केही राहत हुन्थ्यो ।”

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका किसान कान्छा गुरुङले मुस्ताङको ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी रहेको बताउनुभयो । तीजअघि केही स्याउ बजार पठाइए पनि ठूलो परिमाणमा स्याउ अझै बगैँचामै रहेको उहाँले बताउनुभयो । सडक खुलेपछि एकैपटक ठूलो परिमाणमा स्याउ बजार पुग्दा मूल्य घट्न सक्ने जोखिमसमेत रहेको उहाँको भनाइ छ ।

घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान योन्तेन गुरुङले बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउन आयोजनाले तीव्र गतिमा काम गर्नुपर्ने बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटनसँगै कृषि क्षेत्रसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले स्याउ किसानलाई थप क्षति हुन नदिन राज्यका सबै संयन्त्र परिचालन गरी सडक खुलाउनुपर्ने माग गर्नुभयो ।

विद्युत् प्रसारणसम्बन्धी समस्या र सडक अवरोधका कारण टिपेर राखिएका पाँच ट्रक स्याउ बजार पठाउन नसकिएको उहाँले बताउनुभयो । लामो समयसम्म राख्दा ती स्याउ कुहिएर नोक्सान हुने जोखिम रहेको उहाँको भनाइ छ ।

वारागुङ मुक्तिक्षेत्र–४ तिरीका किसान नर्वु गुरुङले सडक सञ्चालन नहुँदा परम्परागत जातका स्याउ बोटमै पाकेर झर्न थालेको बताउनुभयो । बगैँचाबाट झरेका स्याउको तस्बिर प्रमुख जिल्ला अधिकारी शर्मालाई देखाउँदै उहाँले किसानको पीडा बुझिदिन आग्रह गर्नुभयो ।

किसानका गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी शर्माले प्राकृतिक विपत्तिका कारण भएको क्षति तत्काल रोक्न नसकिने भए पनि सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो । सडक सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उहाँले चाँडै सडक खुल्ने बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दी खण्डमा अपेक्षाभन्दा बढी क्षति भएकाले सडक सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । मालढुङ्गादेखि कोरलासम्म अधिकांश स्थानमा सडक मर्मत भइसकेको र म्याग्दीको सिरुबारी, बैसरी, पनौटो तथा पोखरेबगरमा पुलका पहुँचमार्ग मर्मतको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

म्याग्दी खण्डमा १३ किलोमिटर सडक मर्मत तीव्र गतिमा भइरहेको छ । बाँकी काम पूरा गर्न एक साता लाग्ने आयोजना प्रमुख शर्माले बताउनुभयो ।
—

प्रतिक्रिया

सम्बन्धित खवर