काठमाण्डौं, १ जेठ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दिनुभएको जानकारी अनुसार, मन्त्रिपरिषद्को हिजो बुधबार अबेर साँझ बसेको बैठकले ती आयोगमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम अध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी , डा टीकाप्रसाद ढकाल,पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रनियुक्त हुनु भएको छ । ।
त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ भने सदस्यमा गोपालनाथ योगी , अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली नियुक्त हुनु भएको छ ।
मन्त्रिपरिषद्को हिजैको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समितिमा अर्थविद् डा पोषराज पाण्डेलाई नियुक्त गरेर पूर्णता दिएको छ । तीन सदस्यीय सो समितिको सदस्य विश्व पौडेलले राजिनामा दिएपछि समिति अपूर्ण बनेको थियो । समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री र अर्को एक सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी रहनु भएको छ ।
