कञ्चनपुर, २८ वैशाख । काम गर्ने दृढ इच्छाशक्ति भए उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका वर्षीय रामसिंह विष्टले सिद्ध गर्नुभएको छ ।
तिन बिसे तेह्नको यो उमेरमा उहाँ चुरे क्षेत्रका खोलाबाट ढुंगा सङ्कलन गरी मूर्ति निर्माण गर्दैहुनुहुन्छ । ढुंगाबाट बनाइएका मूर्ति बिक्री गरी उहाँको घरखर्च चल्ने गरेको छ । त्यस गाउँका केही व्यक्तिले पनि उहाँले ढुंगाबाट बनाएका मूर्ति हेर्दाहेर्दै तेही काम सिकेका छन् ।
बिष्ट ढुंगाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग, नन्दीलगायतका मूर्ति उनले बनाउँनुहुन्छ । एक दशकको अवधिमा एक सय ५० बढी मूर्ति निर्माण गरिसकेको उहाँको भनाई छ । मूर्तिकार बिष्टका अनुसार यौटा मूर्ति निर्माण गर्न साइज हेरर एकदेखि तीन महिनासम्म लाग्ने गरेको छ ।
बिष्टमूर्ति बनाएबापत प्रतिमूर्ति रु ३० देखि रु ५० हजारसम्म पारिश्रमिकका रूपमा लिनुहुन्छ। ‘मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु’, उहाँले भन्नुभयो, ‘मूर्ति बन्न सक्ने ढुंगा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु।’
मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उहाँको भनाइ छ । तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिनु हुन्छ।
बिष्ट भन्नुहुन्छ “सीप र जागरलाई उमेरले छेकदैन । त्यति भए जीवन पनि चलाउन सकिंदो रहेछ । ”
दुई–तीन महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उहाँको भनाई छ । उहाँका अनुसार तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ ।
