काठमाण्डौं, २८ बैशाख । देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसका साथै नेपालको मौसम प्रणालीमा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत थोरै प्रभाव कायम छ । त्यसले गर्दा आज आइतबार देशको केही भागमा पानी पर्ने हिमपात हुने र हावाहुरी चल्ने सम्भावना छ ।
यो जानकारी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । महाशाखाका अनुसार आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको चल्ने सम्भावना रहेको छ।
