काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम असंवैधानिक भएको ठहर गर्दै अब के कस्तो कार्ययोजानसाथ अघि बढ्ने भनी अन्य दलसँग छलफल गर्न लागेको  हो ।

बैठक पश्चात् काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बताउनुभयो : राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरीत भएको हाम्रो निष्कर्ष छ । अब  अन्य दलसँग छलफल गरी अघि बढ्ने कार्ययोजना तय हुन्छ ।

‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्रहार गर्ने कोशिस भएको छ।  त्यसलाई हामी सफल हुन दिँदैनौँ’,  अब कुन बाटो तय गर्दा  ठीक हुन्छ अरु दलसँग पनि छलफल गरेर अघि बढ्छौँ । अहिले आवश्यकता ओली प्रवृत्तिलाई रोक्ने भएकाले महाभियोगसहितका सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुगिने सह महामन्त्री महतको भनाइ छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र त्यस बमोजिमको राष्ट्रपतिको कार्यलाई संविधानविद्हरूले असंवैधानिक भनेका छन् । प्रधानमन्त्री र राष्ट्पतिको यो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुन लागेको छ ।

यसैबीच नेपाली काँग्रेसको पहलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक देउवा निवास बूढानीलकण्ठमा शुरु भएको छ ।  सो बैठकले निकाल्ने निष्कर्षका आधारमा यी दलहरू त्यो असंवैधानिक कदमविरुद्ध अघि बढने तयारी छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर