
काठमाण्डौं ५ बैशाख । आज विश्व सम्पदा दिवस मनाइंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन लागिएको हो ।
यस अवसरमा आज बिहान काठमाडौंमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा संघ तथा बागमती प्रदेश हस्तकला संघको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने बताइएको छ ।
विश्व सम्पदा क्षेत्रमा हाल नेपालमा काठमाडौं उपत्यकाभित्र वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू, बाहिरमा लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।