
काठमाडौ, २५ फागुन । आज नेप्से परिसूचक ४६.३३ अंकले घटेर दुई हजार सात सय ७२.१० विन्दुमा कायम भएको हो।
नेप्से १.६४ प्रतिशतले घट्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले घटेको छ।
यस दिन ३१५ कम्पनीका दुई करोड २७ लाख २६ कित्ता सेयर खरिद–बिक्री हुँदा १० अर्ब नौ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नौ अर्ब ९१ करोडबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका सबै समूहको सूचक पनि आज ओरालो लागेको छ। लगानी र अन्य समूहको सूचक दुई प्रतिशतभन्दा कमले घट्दा होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह एक प्रतिशतभन्दा कमले घटेका छन्। बाँकी सबै समूहको सूचक एक प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।
बजार घटे पनि गार्जियन माइक्रोलाइफ इन्स्योरेन्स र आइसिएफसी फाइनान्स डिबेन्चरको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, भूगोल इनर्जी विकास कम्पनी र एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले क्रमशः ९.९९ र ३.९३ प्रतिशत कमाएका छन्।
यता, उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, समाज लघुवित्त र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य क्रमशः ९.८७, ७.२८ र ५.२८ प्रतिशतले घटेका छन्।