
काठमाण्डौं, १२ फागुन । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त हुनुभएको छ । उहाँलाई आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गरेको हो ।
सुदूर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका ३३ बर्षीय ओझाले ब्यबस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक अध्ययन गर्नुभएको छ ।
ओझा वित्त र मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र एवं ब्याबसायिक कानून बिश्लेषणमा विशेष दखल राख्नुहुन्छ ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम सिफारिस थियो ।
प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । समितिले आवेदन दिएका १२ जनामध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरेको थियो । सर्टलिष्टमा परेका सबैको व्यावसायीक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिएपछि त्यसको आधारमा ती तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइएको थियो ।
सिफारिस समिति राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध गत मंसिर २४ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सिलवाल स्वतः निलम्बनमा पर्नुभएको थियो । त्यसपछि सो प्राधिकरणको अध्यक्ष पद खाली थियो ।
नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरूको नियामक सरकारी सस्था हो ।