काठमाडौँ, २८ माघः कृषि क्षेत्रमा चुनौती देखिए पनि सरकारले मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
बीपी चिन्तन प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले सरकारले कृषि नीति ल्याउने तयारी गरिरहेको बताए । नेपाल आर्थिक विकासको पूर्ण सम्भावना भएको मुलुक भएको र त्यसको आधार कृषि हुन सक्ने उनको तर्क थियो ।
कृषि ऐन ल्याउनका लागि मन्त्रालयले पहल लिएको पनि मन्त्री अधिकारीले जानकारी दिए । सरोकारवाला पक्षहरूसँग कृषि ऐनका बारेमा सुझाव माग गरेको र विभिन्न चरणमा छलफल चलाएको उनको भनाइ थियो । ऐनको मस्यौदामा प्राप्त सुझावहरू विधेयक अगाडि बढाउँदा समेट्ने उनको प्रतिबद्धता थियो । कृषि ऐनको मस्यौदामाथिको छलफल अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले संसद्मा ल्याएर पारित गर्ने र कार्यान्वयनमा लैजाने बताए ।
कार्यक्रम आयोजक प्रतिष्ठानले नेपाली कृषि क्षेत्रका चुनौतीको कसरी सामना गर्ने, उत्पादन क्षमता कसरी बढाउने, कृषियोग्य जमिनको संरक्षण गर्न र बाँझो जमिनको उपयोग कसरी गर्ने भन्ने उपायको खोजी गर्न छलफल कार्यक्रम राखेको जानकारी दिएको थियो ।
युवा जनशक्तिलाई नेपालमै बस्न र कृषि कर्ममा लाग्नका लागि प्रोत्साहन गर्न र त्यसका लागि सरकारको ध्यान खिच्न पनि यस्ता कार्यक्रम आवश्यक रहेको प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बताए । कार्यक्रममा कृषिसम्बन्धी नीति निर्माता, विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।
