
काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।
आगलागीबाट पचास लाख बराबरको क्षति
खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।