
काठमाडौँ, ५ पुस । सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको बताउनुभएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी सङ्घीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीयतालाई कमजोर बनाउनेगरी व्याख्या भइरहेको छ, त्यो बेठिक छ । कैयौँ कुरा क्षमता, कानुन र बुझाइको अभावमा कमजोरी हुन पुगेका छन् ।” उहाँले सङ्घीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “कानुन निर्माणदेखि सङ्घीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै सङ्घीयता बोझिलो, खर्चिलो र स्रोतको दुरुपयोग भयो भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको छ, । संविधानका संशोधनमा सङघीयताका बारेमा बहस हुनु गलत छ ।”
सङ्घीयतासम्बन्धी अभ्यास, जिम्मेवारी र भूमिका कस्तो रह्यो भनी अब गम्भीर समीक्षाको खाँचो रहेको बताउँदै सभामुख घिमिरेले भन्नुभयो, “आगामी दिनमा सङ्घीय संसद्मा यसबारे पर्याप्त बहस र छलफलका लागि आवश्यक वातावरण मिलाइनेछ ।”