काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।
बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।
पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पहिरोले घर पुरिँदा दुईको मृत्यु
सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।
घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिनुभयो ।
मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिनुभयो ।
काठमाडौँको नदी करिडोरका सडक बन्द
काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।
प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उहाँले भन्नुभयो ।
मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।
