काठमाडौँ, ६ असोज : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
उनलाई बुद्ध एयरको साँझ ८ बजेको उडान मार्फत पोखरा लान थालिएको प्रहरीले जनाएको छ ।
