काठमाडौँ, २ चैत । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उहाँहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गर्नुभयो ।
उक्त माग गर्ने सांसदहरुमा राजेन्द्रकुमार केसी, सञ्जयकुमार गौतम, सूर्यबहादुर थापा क्षेत्री, रामप्रकाश चौधरी र प्रेम सुवाल रहनुभएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो । उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउनुभएको थियो ।
