काठमाण्डौं, ७ बैशाख । इंलिस प्रिमियर लिगको गए राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमै रोकिएको छ । इपीएलको साविक विजेता यो टिम यसपालि शीर्ष चारभित्र पर्नका लागि संघर्षरत छ । यो बराबरीसँगै लिभरपुललाई चौथो स्थान निश्चित गर्ने मौका भने थप कठिन भएको छ ।
लिगको शीर्ष ४ स्थानमा रहने क्लबले च्याम्पियन्स लिग खेल्न पाउँछन् ।
बराबरीपछि ३२ खेलबाट लिभरपुलको ५३ अंक छ । चौथौ स्थानको वेस्टह्यामको समान खेलबाट ५५ र एक खेल कम खेलेको चेल्सीको ५४ अंक छ ।
लिगको पहिलो स्थानमा ७४ अंककासथ म्यानचेस्टर सिटी, दोस्रो स्थानमा ६६ अंककासाथ म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा ५६ अंककासाथ लेस्टर सिटी छन् । ३२ खेलबाट ५० अंक बटुलेको टोट्टेनह्याम सातौं स्थानमा छ । लिभरपुलको स्थान छैटौं छ । अब ६ खेल बाँकी छन् ।
गए रातिको खेलमा लिभरपुलका स्ट्राइकर साडियो मानेले ३१ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर उनको यो गोल पर्याप्त भएन । लिडस्का डिएगो लोरेन्टोले खेलको ८७औं मिनेटमा गोल फर्काएर खेल बराबरी गरे र अंक एक/एक बाँडियो ।
