गण्डकी, १ साउन । चैते धान र व्यावसायिक तरकारी खेती गर्ने पोखरा महानगरपालिका वडा नं २६ र २७ का चार सय १६ किसानलाई आइतवार महानगरको कृषि महाशाखाले प्रोत्साहन रकम वितरण गरेको छ ।
दुवै वडाका वडाध्यक्ष, महानगरका प्रतिनिधिलगायतको उपस्थितिमा सो रकम बाँडिएको हो ।
वडा नं २६ मा दुई सय ९५ किसानलाई रु आठ लाख ३८ हजार नौ सय ६८ र व्यावसायिक तरकारी खेती गर्ने चार किसानलाई रु तीन लाख ३२ हजार एक सय ५० प्रदान गरिएको हो ।
वडा नं २७ मा एक सय दुई किसानले रु तीन लाख ४८ हजार एक सय ५० र तरकारी खेतीमा लागेका १५ किसानले रु तीन लाख ७८ हजार छ सय १३ प्रदान गरिएको थियो ।
उक्त किसानलाई प्रति रोपनी रु नौ सयका दरले प्रोत्साहन रकम दिइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । तरकारीतर्फ प्लास्टिक घर (टनेल)मा खेती गर्नेलाई प्रति वर्गमिटर रु एक सय ३० र तरकारीको क्षेत्र विस्तार गर्नेलाई प्रति रोपनी रु दुई हजारका दरले प्रदान गरिएको हो । रासस
