काठमाडौ, ७ असार । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले आज सो आदेश जारी गरेको हो।
अदालतले छलफलका लागि असार १२ गते दुबै पक्षलाई बोलाएको छ।
भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
