रसुवा, ६ जेठ । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ ।
गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् ।
शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् ।
समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहनुभएको विश्वास गरिन्छ ।
निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ ।
मेलाको आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजनको आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो ।
दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ ।
यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ : ‘सबै यात्रुको सङ्ख्यात्मकरूपमा लगत राखिने छ ।’
यात्रुको चापलाई मध्यनजर राखी नेपाल प्रहरीले यथेष्ट सुरक्षा प्रबन्ध मिलाइसकेको जनाउँदै जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले कुनै स्थानमा सुरक्षा चाहिएमा वा उद्धार गर्नुपर्ने अवस्था सिजर्ना भएमा नेपाल प्रहरीको निःशुल्क फोन नं १०० मा खबर गरिदिन यात्रुसमक्ष अनुरोध गरिएको बताउनुभयो ।
यसैगरी हिमालय पुत्री पार्वती माता विराजमान रहनुभएको रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहरदोहर भइरहेको छ । गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजन पार्वती कुण्ड स्नान गरेर फर्कने गर्दछन् ।रासस
