जुम्ला, २४ वैशाख । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाका तीन जनाको मृत्यु भएको छ । उनीहरू तिनै जना पातारासी गाउँपालिकाका हुन् ।
पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
जुम्लाको पातारासीबाट मुगुमा यार्सा सङ्कलनका लागि १४ जनाको टोली जाँदै थियो ।
यो टोली मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा गएको हिउँ पहिरोमा परेको थियो ।
टोलीका अन्य सामान्य घाइते भएका छन् ।
उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले बताउनुभयो ।
शनिबार दिउँसो त्यो टोली हिउँ पहिरोमा परेको खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।
यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । मृतक तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।रासस
