काठमाडौँ, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ । रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आए पनि सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गर्नुभएको छ ।
“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति अर्यालले भन्नुभयो ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा सभापति लामिछानेलाई बधाई दिनुभएको थियो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिनु भएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो । भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिनुभयो ।
