युगवाणी सम्वाददाता
काठमाण्डौं, १० बैशाख । निजी क्षेत्रमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने कानून बनाउन लागिएकोमा नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाउँदै यो मान्य नहुने जनाएको छ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हिजो शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
गत चैत २८ गते राष्ट्रिय सभाले बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अख्तियार दुरूपयोेग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने गरी दुईवटा विधयक पारित गरेको थियो।
निजी क्षेत्रले संचालन गरेका कतिपय बैक एवं उद्योग व्यवसायिक संस्थामा व्यापकरुपमा आर्थिक अपचलन हुने गरेको र त्यसमा सर्वसाधारण जनताको लगानी पनि हुने भएकोले त्यस्तो अपचलन नियन्त्रण गर्न सरकारले छुट्टै कडा संयन्त्र बनाउनु पर्ने वा अख्तियारलाई नै त्यस्तो अधिकार दिनुपर्ने आवाज उठिरहेको बेला त्यस्तो कानून बनाउन लागिएको हो ।
तर यही सन्दर्भमा बनाउन लागिएको कानूनबारे चेम्बरको आपत्ति छ : ‘निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकाय हुँदाहुँदै यसलाई थप अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा बेथिती बढ्ने र उद्योगी व्यवसायीहरू हतोत्साही हुने हुन्छ ।’
‘निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रास आउनुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने देखिन्छ। विधेयकमा उल्लेखित व्यवस्थाले व्यवसायिक निर्णय लिन कठिन हुने अवस्था सिर्जना हुन्छ,’ मल्लको विज्ञप्तिमा भनिएको छ।
