बैतडी, १८ चैत । सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ ।
नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरुषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्क्रमित मान्छे जात्रा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि सङ्क्रमण सार्न सक्ने भएकाले नेपाल आउन नदिइएको हो ।”

भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४५ हजार छ सय ३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय ४६ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर