काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी हुनुहुन्थ्यो ।
यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिनुभएको थियो ।
सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो ।
नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।
राष्ट्रपति पौडेलको जीवनी
राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) हुनुहुन्छ ।
मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै आउनुभएका पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गर्नुभएको छ । पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् सङ्घर्षशील व्यक्तिका रूपमा लिइन्छ ।
विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्नुभएका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ जेठ÷असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि हुनुभएको थियो । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री विपी कोइरालालगायत नेतालाई जेलमा राखिएकामा त्यसको विरोध गर्दै पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएको हो ।
विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतले २०१९–२०२० सालमा भएको उपत्यकाव्यापी विद्यार्थी आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पौडेल गिरफ्तार हुनुभएको थियो ।
नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हाल्नुभएका पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ जिल्ला समितिको संयोजक (२०३७), कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०) र २०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो ।
नेपाली कांगे्रस पार्टीको केन्द्रीय महामन्त्री (२०६२–२०६४), केन्द्रीय उपसभापति (२०६४–२०७२) र कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) हुनुभएका पौडेल २०७२ सालमा कांगे्रस पार्टीको कार्यवाहक सभापति हुनुभएको थियो । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा पटकपटक गिरफ्तार हुनुभएको थियो । विद्यार्थी आन्दोलनसहित नेपाली कांग्रेस पार्टीको जिल्लादेखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पौडेलले १४ वर्षभन्दा बढी जेलजीवन व्यतीत गर्नुभएको थियो ।
पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो ।
पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना÷सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०)समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।
पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन्’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
यसैगरी, सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुनुहुन्छ ।
