मोरङ, १७ फागुन  ।   प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव बहुमतले पारित भएको छ। आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमाले सांसद रामबहादुर मगरले संसद सचिवालयमा आज बिहान प्रस्ताव दर्ता गर्नुभएको थियो । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन् ।

उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ भने ६ जना अनुपस्थित रहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ५८(ख) बमोजिम आज प्रस्ताव पेश भएको हो ।

प्रदेश नामकरणको प्रस्ताव पेश हुनुअघि नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्रकुमार राईले राखेको कोशी प्रदेश माथिको संशोधन प्रस्ताव ‘किराँत-लिम्वुवान-कोशी’ प्रदेशको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर