काठमाडौँ, १२ फागुन  । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा  समाहित गराउने चार दलबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे पुनःबैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।”

आआफ्ना दलबीच पुनःछलफल गरेर बैठक पुनःसाँझ ५ बजे बस्नेछ । बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर