काठमाडौ, ८ फागुन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।
उक्त निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने कुरा सो अवसरमा जानकारी दिइयो ।आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ ।
उक्त दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन् ।
प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।
वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ ।रासस
