–पूर्ण विके
तनहुँ, ६ फागुन । बुद्धसिं मार्ग तनहुँको दमौलीबाट चितवनको नारायणघाट निस्कने वैकल्पिक सडक मार्ग हो । यसको ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो । तर अझै पनि यो मार्ग सरकारको प्राथमिकतामा र चासोमा परेको छैन । अहिलेसम्म सडक लथालिंङ छ ।
यो मार्ग नारायणघाट दमौली पुग्न पृथ्वीराजमार्गको यात्राभन्दा २२ किलोमिटर दूरी छोटो पर्छ ।
जम्माजम्मी ३४ किलोमिटर दूरी रहेको बुद्धसिं मार्गमा खाल्डाखुल्डी र खोलानालाका कारण यात्रुले सँधै सास्ती खेप्नु परेको छ ।
त्यस्तै आँबुखैरेनी–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा यात्रु दमौलीदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्म यात्रा गर्न बाध्य छन् ।त्यसमाथि वर्खायाममा सवारीसाधन चलाउनै कठिन छ ।
यसबारे ग १ ख ५८४९ नं को मिनी बसका चालक चन्द्रबहादुर भुजेलले भन्नुहुन्छ “खाल्डाखुल्डीले सवारीसाधन हाँक्न सास्ती हुन्छ । वर्षायाममा खोलामा पानी बहाव बढेर समस्या हुने गरेको छ ।”
नारायणघाटबाट मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै दमौलीसम्मको दूरी ७४ किलोमिटर छ । तर सेती नदीको तिर हुँदै दमौली निस्कन यस मार्गबाट जम्मा ५२ किलोमिटरको यात्रा तय गरे पुग्छ ।
अहिले त्रिशूलीमाथि पुल नबन्दा घुमाउनेघाटमै पुगेर सवारीसाधन रोकिनुपर्ने अवस्था छ ।
यो पुल बनेमा झापा, धरान, बुटवल, भैरहवालगायत तराईदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दीलगायत जिल्ला पुग्न २२ किलोमिटर छोटो दूरी पर्छ तर यो वैकल्पिक मार्ग सरकारको प्राथमिकतामा नपर्दा आफूहरुले सास्ती खेप्दै आउनु परेको बुद्धसिं मार्ग उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुहुन्छ । उहाँका अनुसार “यो सडक अहिलेसम्म कालोपत्र भइसक्नुपर्ने हो ।”
त्रिशूलीमा पक्की पुल नबन्दा आफूहरुले झोलुङ्गे पुलबाट बोकेरै सामान लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी–५ का हरिप्रसाद ढकालले बताउनुभयो । “हामीले कष्टकर तवरले झोलुङ्गे पुलबाटै सामान वारपार गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा पक्की पुल निर्माण गर्ने कुरा थियो, अहिलेसम्म बन्ने सुरसार छैन ।”
घुमाउनेघाटका केही पसलमा झोलुङ्गेपुलबाट खाद्यान्न ओसारेको स्थानीय मजदुरले २५ किलोग्राम चामलको प्रतिबोरा रु ३० देखि रु ५० सम्म तिर्नुपर्ने आँबुखैरेनी–५ घुमाउनेघाटकी व्यापारी चन्द्रकला गुरुङले बताउनुभयो । “पक्की पुल नबन्दा झोलुङ्गेपुलबाट सामान बोकाएरै पसलमा ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
उक्त मार्गमा पहिलो प्राथमिकता पुल निर्माणमा हुनुपर्ने स्थानीयको माग छ । पुल निर्माण सम्पन्न भए दैनिक यातायात सञ्चालन हुने र स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पुर्याउन सकिने छ ।
पुल निर्माणसहित उक्त मार्गमा दैनिक यातायात सञ्चालन हुन सके उक्त क्षेत्रको विकट बस्ती धरमपानी, छिम्केश्वरी, देउराली, देवघाटको उत्तरी क्षेत्र, छिपछिपे र वैदीका हजारौँ बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्छ ।
बुद्धसिं मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व वास्तोला बताउनुहुन्छ : “यो मार्ग राज्यको प्राथमिकतामा परेको भए यहाँका नागरिकको जीवनस्तर उहिल्यै उकासिने थियो,। मार्गको स्तरोन्नति नहुँदा घण्टौँ हिँडेर चितवन र दमौली आउजाउ गर्नु परेको छ ।”
व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउनेघाटसम्म यस मार्गको कूल लम्बाइ ३४ किलोमिटरमध्ये १० किलोमिटर पक्की सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
तर त्रिशूलीमा मोटरेबल पुल निर्माणको पत्तो छैन ।
उक्त मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये आठ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । (रासस)
