काठमाडाँै, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा सोमबार बिहान नेपाल आइपुगेका भारतका विदेश सचिव विनयमोहन क्वात्रा याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ ।नेपाल बसाईको क्रममा क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।
उहाँले फागुन १ देखि २ गते फेब्रुअरी १३ देखि १४ तारिख०सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुनेछ । सो अवसरमा उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारत र नेपालबीच सभ्यता एवं ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ । यस भ्रमणले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । आजै क्वात्राले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।
सचिव क्वात्रा मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
