कैलाली, २६ माघ । सुदूरपश्चिमको प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको  छ।  नवनियुक्त मुख्यमन्त्री शाहले  भोलि (शुक्रबार) शपथ लिनुहुने कार्यक्रम छ ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहलाई आज बिहीबार मुख्यमन्त्रीमा नियुक्त  गर्नुभएको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशसभा बैठकको बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख जोशीसमक्ष साँझै राजीनामा दिनुभएको थियो । रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

अब नव नियुक्त मुख्यमन्त्री शाहको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ ।

शाह संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । सो धारामा उल्लेख छ :  ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’  ।

आजको बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्यहरू अनुपस्थित रहनुभएको थियो । यो दलले आफ्नो नेता रेशम चौधरी रिहा गर्ने लिखित प्रतिबद्धता संघीय सरकारसित माग गरेको थियो । सरकारबाट त्यस्तो प्रतिबद्धता नपाएपछि यस दलका सांसहरू अनुपस्थित रहेर रावललाई असहयोग गरेका हुन् ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर