काठमाडौँ, २१ माघ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् ।
सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छाँै ।” उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैपक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने भन्ने भएको छ । कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन् । व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुङगोमा पुग्छौँ ।”
परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : कांग्रेस
प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् ।
सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजिनामा र त्यसपछिको अवस्थाका बारेमा सुक्ष्मढङ्गले हेरिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताउनुभयो ।
नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।”
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिनुभयो ।
