इजिप्ट, १५ माघ । पुरातत्त्वविदहरूले इजिप्टमा ४,३०० वर्षदेखि नखोलिएको एउटा शवबाकसभित्र सुनले मोडिएको एउटा ममी अर्थात सुरक्षित राखिएको शव फेला परेको बताएका छन्।

हेकाशेप्स नामका एक व्यक्तिको उक्त शव अहिलेसम्मकै सबभन्दा पुरानोमध्ये एक भएको र गैरराजकीय परिवारको झन्डै जस्ताको तस्तै रहेको सग्लो शव भएको ठानिएको छ।

कायरोको दक्षिणमा रहेको सकारा समाधिस्थलमा उक्त शव जमिनभन्दा १५ मिटर तलबाट निकालिएको थियो। त्यहाँ थप तीनवटा अन्य तीनवटा चिहान पनि फेला परेका थिए। एउटा चिहान गोप्य सूचना रक्षक भनिने व्यक्तिको छ।

प्राप्त ममीमध्ये सबभन्दा ठूलो चाहिँ खनम्डजेडेफ नामका व्यक्तिको छ जो पुजारी, निरीक्षक र भारदारहरूका सुपरिवेक्षक थिए।

अर्को शव मेरि नामका व्यक्तिको छ जो दरबारका एक वरिष्ठ अधिकारी थिए र उनलाई गोप्य सूचना रक्षकको उपाधि दिइएको थियो।

त्यस्तो उपाधि पाएका कारण उनलाई विशेष धार्मिक अनुष्ठानहरू गर्न अनुमति प्राप्त थियो।

अर्को चिहानमा राखिएका व्यक्ति फेटेक थिए जो न्यायाधीश र लेखक थिए। र त्यहाँ त्यस क्षेत्रमा फेला पारिएकाहरू सबैभन्दा ठूला मूर्तिहरूको संग्रह भेटिएको छ।

चिहानहरूसँगै माटा भाँडाकुँडा र अन्य वस्तु पनि फेला परेका थिए।

पुरातत्वविद तथा इजिप्टका पूर्व पुरातत्त्वमामिला मन्त्री जाही हवासले प्राप्त भएका सबै ईशापूर्व २५ देखि २२ औँ शताब्दीका रहेको बताएका छन्।

उत्खननमा संलग्न अर्का पुरातत्वविद अलि अबु डेशिशले भने “यो खोज यस्तो महत्वपूर्ण छ कि यसले राजा र उनका वरिपरि रहने मानिसहरूको सम्बन्ध पनि झल्काएको छ।”

चिहानस्थलमा भाँडाकुँडा र अन्य सामग्री पनि फेला परेका थिए

सकारा ३,००० वर्षभन्दा बढी समयसम्म एउटा सक्रिय समाधिस्थल रहेको थियो। यो युनेस्कोको विश्व सम्पदा क्षेत्र पनि हो।

प्राचीन इजिप्टको राजधानी मेमफिस र एक दर्जनभन्दा बढी पिरामिड भएको स्थानमा यो अवस्थित छ।

बिहीवारको अन्वेषण दक्षिणी इजिप्टको शहर लक्सरमा विज्ञहरूले ईशाको दोस्रो र तेस्रो शताब्दीको रोमन युगको एउटा पूर्ण शहरको अवशेष फेला पारेको बताएको केही समयमै घोषणा गरिएको हो।

पुरातत्त्वविद्हरूले मानिसका घर, टावर र “धातुका वर्कशप” पनि फेला पारेका छन्। तिनमा भाँडाकुँडा उपकरण र रोमन सिक्का पनि छन्।

इजिप्टले उसको पर्यटन उद्योगलाई सहायता पुर्‍याउन पछिल्ला वर्षहरूमा कैयौँ महत्त्वपूर्ण पुरातात्विक अन्वेषण गरेको छ।

सरकारले उसको ‘ग्र्यान्ड इजिप्शियन म्युजियम’ यो वर्ष खुला गरिएपछि त्यसले मात्रै सन् २०२८ सम्ममा ३ करोड पर्यटक भित्र्याउने आशा राखेको छ।

तर आलोचकहरूले इजिप्टको सरकारले मिडियालाई आकर्षित गर्ने खालको कुरालाई प्राथमिकतामा राखेर प्राज्ञिक काम भने ओझेलमा पारेको आरोप लगाउने गरेका छन्।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर