काठमाण्डौ, २३ पुस । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुख पदमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित हुनुभएको छ।
उहाँ पन्ध्रौँ चरणको मतदान पछि निर्वाचित हुनुभएको हो । सभामुखको निर्वाचनमा यति लामो गतिरोध अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यता भएको हो ।
यद्यपि रिपब्लिकन दलसित स्पष्ट बहुमत थियो । तर केही व्यक्तिले नेतृत्व चयनमा सहमति नदिदा चौधौं पटकसम्म मेकार्थी बहुमत पाउन सक्नुभएको थिएन ।
आफ्नै दलको उम्मेदवारको विपक्षमा रहेका ६ जनाले पन्ध्रौं चरणको मतदानमा आफ्नो अडान छाडे र मेकार्थीलाई सहयोग गरे ।
यसअघि शुक्रवार राति नाटकीय रूपमा एक मत नपुग्दा मेकार्थी सभामुख चुनिन सक्नुभएको थिएन ।
यसरी संसद्को प्रक्रिया प्रारम्भ भएको लगभग साढे १२ घण्टापछि र गतिरोध देखा परेको ४ दिनपछि उक्त परिणाम आएको हो।
गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट पार्टीले २१२ सिट जितेका थिए।
संसदको सभामुख चयन हुन २१८ जना सांसदको भोट पाउनुपर्छ। रिपब्लिकन पार्टीसँग नयाँ सभामुख चुन्न पर्याप्त मत रहे पनि आन्तरिक विवादले नयाँ सभामुख चुन्न सकस भएको थियो। मकार्थी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थन मानिनुहुन्छ ।
मेकार्थी सभामुख निर्वाचित भए लगत्तै राष्ट्रपति बाइडनले नयाँ उहाँलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनु भएको छ ।
यसअघि रिपब्लिकनहरूले सार्वजनिक रूपमा नै बाइडन, उनको प्रशासन र पारिवारिक व्यवसायका लेनदेनहरूमा छानबिन गर्ने बताएका थिए।
तर सभामुख चुनिएको पहिलो दिन ह्वाइट हाउसबाट न्यानो शब्दमा सहकार्यको प्रस्ताव सार्वजनिक भएको छ।
ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा बाइडनले केही समय पहिले मिडटर्म निर्वाचनमार्फत मतदाताहरूले रिपब्लिकनहरूलाई आफूसँग मिलेर काम गर्ने अपेक्षा राखेको बताए।
सभामुखलाई संसद्को बैठकको अजेण्डा तय गर्ने र विधायीकी जिम्मेवारीको सुपरिवेक्षण गर्ने अधिकार हुन्छ।
यो पद राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा रहने गरेको छ।
