काठमाडौ, १५ असोज । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ।
शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गर्नुभयो ।
पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताउनुभएको छ ।
कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उहाँले त्यो कुरा बताउनुभएको हो ।
उहाँले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गर्नुभएको छ ।
प्रतिक्रियास्वरूप किएभले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ।
आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको डी फ्याक्टो (विधानतः नभए पनि व्यवहारमा) सदस्य रहेको बताउँदै सीमालाई परिवर्तन गर्ने मस्कोले हत्या, झुक्काउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको आरोप लगाउनुभयो ।
हामीले नेटोमा जोडिनका लागि युक्रेनको आवेदनलाई तीव्रता दिन निर्णायक कदमका लागि हस्ताक्षर गरेका छौँ, मध्य किएभबाट जेलेन्स्कीले भन्नुभयो।
गाभिएका क्षेत्र कुनकुन हुन्?
ती गाभिएका क्षेत्रमा बस्ने मानिसहरूले नै त्यस्तो छनोट गरेको पुटिनले दाबी पनि गर्नुभयो ।
तर ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह भने छद्म भन्दै निन्दा भएको छ।
संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्।
राष्ट्रसङ्घले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जनाएको थियो।
गाभिन लागेका क्षेत्रहरू रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र जापोरीजा हुन्।
रुसले ती क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति पुटिनले पनि त्यसमा हस्ताक्षर गर्नुभएको छ ।
ती क्षेत्रका प्रतिनिधिहरूबीच परिचय गराइँदा दर्शकहरूले तालि बजाएका थिए।
पश्चिमा देशको विरोध
ती क्षेत्रलाई रसियन फेडरेशनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन्।
भाषणमा पुटिनले उग्रराष्ट्रवादी भएर र पश्चिमाविरोधी भएर भाषण दिनुभएको थियो ।
बिहीवार संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसको युक्रेनका क्षेत्रहरू गाभ्ने रुसी योजनाको निन्दा गर्नुभएको थियो ।
यसैबीच युरोपेली सङ्घअन्तर्गतका देशहरूले रुसको कदमको स्पष्ट रुपमा निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन्।
युक्रेनी भूभागलाई आफूमा गाभ्ने रुसको कदमलाई उनीहरूले गैरकानुनी भनेका छन्।
एउटा संयुक्त विज्ञप्तिमा ती देशका नेताहरूले त्यसरी गाभिएको क्षेत्रको पहिचान कहिल्यै नगरिने बताएका हुन्।
उनीहरूले रुसको त्यस्तो कार्यले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको बताएका छन्।
युक्रेनसँगको ऐक्यबद्धता पनि उनीहरूले दोहोर्याएका छन्। रुसको परमाणु धम्कीले आफूहरूको सङ्कल्प नडग्मगिने पनि उनीहरूले बताएका छन्।
युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले पुटिनको कदमले केही पनि परिवर्तन नगरेको बताउनुभयो ।
सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियालाई यसैगरी गाभेको थियो। त्यतिबेलाको जनमतसङ्ग्रहको पनि आलोचना गरिएको थियो।
यसअघि थुप्रै नागरिकहरू ज्यापोरिज्यास्थित रुसी हमलामा मारिएको र घाइते भएको भन्ने विवरण आएका थिए।
कियभले भने आफ्नो कब्जा गरिएका क्षेत्र फिर्ता गर्नका लागि सङ्घर्ष निरन्तर राख्ने जनाएको छ।बीबीसी
