काठमाडौं, २७ असोज। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ गरेको छ । उनीहरूलाई ८० लाख ४८ हजार ठगी गरेको आरोपमा पक्राउ गरेको वजाएको छ ।
पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली छन् ।
उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार, दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट दुई लाख ४८ हजार हजार, नेहाले बेलायत पठाइदिने भन्दै ६७ लाख लिएका छन् । त्यस्तै, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै ६ लाख र सुस्मिताले बेलायत पठाइदिने भन्दै पाँच लाख रुपैयाँ लिएको आरोप छ ।
चारैजनाले गरी ८० लाख ४८ हजार ठगी गरेको आरोप लागेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
