काठमाडौ, १४ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार युक्रेनका थप चारवटा क्षेत्रलाई आफ्नो देशमा गाभ्ने उद्देश्यले एउटा हस्ताक्षर समारोह आयोजना गर्नुहुने भएको छ ।

रुसी नियन्त्रणमा रहेका ती क्षेत्रमा भएको भनिएको जनमतसङ्ग्रहपछि पुटिनले उक्त विलयसम्बन्धी समारोहको गर्न लाग्नु भएको हो ।

रुसले जनमतसङ्ग्रह भनेको उक्त मतदानलाई युक्रेन र पश्चिमा राष्ट्रहरूले छद्म भनी निन्दा गरिरहेका छन्।

रुसी कब्जामा रहेका ती क्षेत्रमा रुस समर्थित अधिकारीहरूले यसअघि पाँच दिन भएको मतदानपछि लगभग पूर्ण जनसमर्थन रुसमा गाभिने पक्षमा गएको दाबी गरेका थिए।

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा मतदान भएको थियो।

जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो।

रुसी राष्ट्रपतिले शुक्रवार क्रेम्लिनमा मुख्य मन्तव्य दिनुहुने छ । मस्कोको रेड स्क्वेअरमा पहिले नै एउटा मञ्च तयार पारिएको छ।

ती चारवटा क्षेत्रलाई रुसी भूभागको रूपमा घोषणा गर्ने बिलबोर्डहरू तयार छन् र साँझमा साङ्गीतिक कार्यक्रम पनि हुनेछ।

यो तयारीले सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो देशमा गाभेको घटनाको झल्को दिएको छ।

त्यस बेला पनि एउटा अन्तर्राष्ट्रिय मान्यता नपाएको जनमतसङ्ग्रहपछि ती क्षेत्रलाई रुसमा गाभिएको घोषणा गरिएको थियो।

त्यसबेला राष्ट्रपतिले हस्ताक्षर गरेपछि संसद्‌मा राष्ट्रपतिले लडाइँमा विजयी भएको मन्तव्य दिनुभएको थियो र ती क्षेत्र आफ्नो देशका अङ्ग भएको घोषणा गरिएको थियो।

उक्त विलयलाई अधिकांश अन्तर्राष्ट्रिय समुदायको हालसम्म मान्यता दिएको छैन।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छद्म जनमतसङ्ग्रको कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, युक्रेनले आफ्नो क्षेत्रीय अखण्डतालाई पुनर्स्थापित गर्नेछ र रुसले त्यो परिणाम (जनमतसङ्ग्रह) लाई मान्यता दिँदा हाम्रो प्रतिक्रिया धेरै कठोर हुनेछ।

रुसले भन्ने गरेको मतदान प्रक्रियाको कुनै स्वतन्त्र अनुगमन भएन र निर्वाचन अधिकारीहरू सशस्त्र सैनिकले घेरिएर घरघरमा गएको तस्बिरहरूमा देखिएको थियो।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीवार भनेका थिए, भोलि दिउँसो ३ बजे ग्रान्ड क्रेम्लिन प्यालेसको सेन्ट जोर्ज हलमा नयाँ क्षेत्रलाई रुसमा समावेश गर्ने सम्बन्धमा हस्ताक्षर समारोह आयोजना गरिनेछ।

त्यो कार्यक्रममा पूर्वी क्षेत्रका दुईजना रुस समर्थित पृथक्तावादी नेता र दक्षिणबाट रुसले नियुक्त गरेका दुई अधिकारीसँग छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर हुनेछ।

क्राइमियाका बेलामा जस्तै रुसी संसद्का दुवै सदनले अर्को साता औपचारिक रूपमा विलयसम्बन्धी सन्धिलाई अनुमोदन गर्नेछन्।

पुटिनले आफ्नो ७० औँ जन्मदिनको तीन दिनअघि अक्टोबर ४ मा संसद्को माथिल्लो सदनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

अमेरिकाले छद्म जनमतसङ्ग्रहका कारण रुसमाथि थप प्रतिबन्ध लगाउने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनी भूभागमा गरेको उसको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पार्नुभएको छ ।

मस्कोले आफूले कब्जा गरेका चारवटा क्षेत्रलाई विलय गर्ने घोषणा गर्ने तयारी गरिरहेका बेला उहाँको यस्तो भनाइ आएको हो।

बाइडनले रुसले साम्राज्यवादी महत्वाकाङ्क्षा लिएको आरोप लगाउनुभयो र उसले रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभागमा गरेको जनमतसङ्ग्रहलाई पूर्णतः छद्म कार्य भएको बताउनुभयो ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले पनि रुसलाई आफ्नो विलय योजनाबाट पछि हट्न आग्रह गर्नुभएको
थियो ।

उहाँले त्यस्तो विलयले सङ्कट थप बढाउने र आधुनिक युगमा त्यस्तो कार्यका लागि कुनै स्थान नभएको भन्नुभएको थियो ।

ईयूका सदस्यराष्ट्रहरूले मतदान गराउन संलग्न जोसुकैमाथि प्रतिबन्धसहित आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेको बताएका छन्।

जर्मनीकी विदेशमन्त्रीले बिहीवार रुसी कब्जामा रहेको युक्रेनी भागमा रहेका मानिसहरूलाई उनीहरूको घर र कार्यस्थलबाट धम्की दिएर र कहिलेकाहीँ गोली प्रहार गरेर जबरजस्ती मत हाल्न लगिएको बताउनुभएको थियो ।

उहाँले त्यसैले उक्त जनमतसङ्ग्रह स्वतन्त्र र निष्पक्ष नभएको दाबी गर्नुभयो ।

गत शुक्रवार युक्रेनको कुल भूभागमध्ये करिब १५ प्रतिशतमा केही दिनको सूचनामा उक्त मतदान प्रक्रिया सुरु गरिएको थियो।

रुसी सरकारी सञ्चारमाध्यमहरूले सशस्त्र सुरक्षाकर्मीलाई सुरक्षाका लागि परिचालन गरिएको दाबी गरे।

तर ती सुरक्षाकर्मीलाई स्थानीयवासीमा डर पैदा गर्न प्रयोग गरिएको स्पष्ट थियो।

रुसले आफूले गाभ्ने निर्णय गरेको चारवटा क्षेत्रमध्ये कुनै पनि क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गर्दैन।

लुहान्स्कको अधिकांश भाग रुसी कब्जामा रहे पनि मस्कोले डोनेट्स्कको ६० प्रतिशत हिस्सा मात्र नियन्त्रण गर्छ।

रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट युक्रेनमा आक्रमण सुरु गरेको सात महिनापछि पनि चारवटै क्षेत्रको अग्रमोर्चामा युद्ध जारी छ।

दक्षिणी क्षेत्रको राजधानी जापोरीजा युक्रेन सरकारको नियन्त्रणमा छ र खेअर्सनमा युक्रेनी प्रत्याक्रमण चलिरहेको छ।

यद्यपि रुसीले ती क्षेत्रमा नियुक्त गरेका अधिकारीहरूले महिनौँदेखि विलय आह्वान गर्दै आएका छन्।

सेप्टेम्बर महिनामा युक्रेनी सैन्य सफलताको शृङ्खलाले क्रेम्लिनले तत्कालै यस्तो कदम चालेको जस्तो देखिन्छ।

युक्रेनी सेनाले उत्तरपूर्वको ठूलो भूभाग पुनः कब्जा गरेको छ।

युक्रेनले बिहीवार उसको सेनाले डोनेट्स्कको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर लिमानमा रुसी सेनालाई घेरेको बताएको थियो।

गत साता पुटिनले आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए।
उक्त घोषणालाई लिएर रुसभित्रै विरोध प्रदर्शन हुनुका साथै कैयौँ युवाहरूले देश छाडेका खबर आएका छन्।

कैयौँ प्रदर्शनकरीहरूलाई पक्राउ गरिएको छ भने क्रेम्लिनले उक्त घोषणामा केही कमजोरी रहेको स्वीकार गरेको छ।

पुटिनले रुसी भूमिको रक्षा गर्न परमाणुअस्त्र सहित सबै माध्यमहरू प्रयोग गर्ने धम्की पनि दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर