काठमाण्डौं, २ असोज । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ बर्षीय पत्रकार गौतमको निधन आज आइतबार विहान ५ बजे ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा भएको हो ।

केही समयदेखि निमोनियाबाट पीडित गौतमको उपचार सो अस्पतालमा भैरहेको थियो ।

पारिवारिक स्रोतका अनुसार, पहिले उहाँलाई कोरोना संक्रमण भएको थियो । त्यो कोरोना संक्रमण निको भए पनि श्वासप्रश्वासको समस्या भने हटेन । अनि निमोनिया देखियो र आईसियुमा राखेर उपचार थालियो । तर उहाँको स्वास्थ्यमा सुधार आएन । पछिल्ला दिनमा भेन्टिलेटरमा राखी थप उपचार भइरहेकोमा उपचारकै क्रममा उहाँको निधन भएको हो ।

पत्रकार गौतमको जन्म विक्रम संवत् २००२ सालमा काठमाण्डौंमा भएको थियो । सम्पादक समाज, नेपालको पूर्वअध्यक्ष गौतम नेपाली पत्रकारितामा पाँच दशकसम्म सक्रिय रहनुभयो ।

उहाँ पछिल्लो समय नयाँ करेन्ट साप्ताहिकको सम्पादक/प्रकाशकको रूपमा कार्यरत हुनुहुन्थ्यो । पत्रकार गौतमलाई २०६९ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।

२०४२ सालको बम काण्डको बेला रामराजाप्रसाद सिंहको भाषण छापेको निहुँमा ६ महिना  जेल पर्नुभएको थियो । त्यहीबेला उहाँले लेख्नुभएको ’अनुसन्धानभित्रको अनुसन्धान’ नामक पुस्तक निकै चर्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर